स्थानीय चुनावका लागि गठबन्धन बनाएर दलहरू र स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिइरहेका बेला गोरखाको एक वडामा भने एकल उम्मेदवारी परेको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रबाट ल्हाक्पा छिरिङ लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध वडाध्यक्ष भएका छन्।
ल्हाक्पा २८ वर्षका भए। यसअघि उनका बुवा लोप्साङ फुन्जो लामा वडाध्यक्ष थिए। लोप्साङ पनि ०७४ को चुनावमा माओवादीबाट उम्मेदवार भएर निर्विरोध वडाध्यक्ष बनेका थिए।
निर्वाचन अधिकृत नानीबाबु पोखरेलका अनुसार सोमबार भएको उम्मेदवारी दर्तामा वडाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो। निर्वाचन कार्यक्रमअनुसार केही समयपछि मात्रै उनलाई वडाध्यक्ष निर्वाचित भएको घोषणा गरिनेछ।
यसअघि वडाध्यक्ष रहेका लोप्साङले छोरालाई सर्वसम्मत वडाध्यक्ष बनाउन चाहेका थिए। एक महिनाअघि नै उनले गाउँमा रहेका नेपाली कांग्रेसलगायत पार्टीसँग कुराकानी गरेका थिए।
आफू बूढो हुँदै गएको र युवालाई नेतृत्वमा जिम्मेवारी दिन चाहेको लोप्साङको भनाइ थियो। यहाँ सदस्य भने नेपाली कांग्रेसबाट पनि उम्मेदवारी परेको छ। दुई जना माओवादी र दुई जना सदस्य कांग्रेसले लिएका छन् भने वडाध्यक्षमा ल्हाक्पा निर्विरोध भएका छन्।
ल्हाक्पाले कक्षा १२ सम्म पढेका छन्। उनका साथी सोनाम लामा कांग्रेसबाट वडा सदस्य उम्मेदवार छन्। दुई युवा साथी मिलेर गाउँको समस्या समाधान गर्ने र विकासका काम गर्ने उनीहरूले बताउने गरेका छन्।