सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।
सिंहको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रमबाट संकल्प पत्र सार्वजनिक गर्ने तयारी छ।
सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, ऐतिहासिक तथा साँस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दा उठाउँदै आएकी छन्।
उनले नि:शुल्क खानेपानी र शौचालयको व्यवस्थापन मिलाउने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र, बागमती र विष्णुमती सरसफाइजस्ता विषय उठाएकी छन्।
पाँचदलीय सत्तागठबन्धनबाट सिंह काठमाडौंको मेयरमा साझा उम्मेदवार छिन्। यहाँ नेकपा एमालेबाट केशव स्थापित मेयरका उम्मेदवार छन्। मेयरमा अरू दल तथा स्वतन्त्रबाट उम्मेदवारी परे पनि सिंह र स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।