सत्ता गठबन्धनका दलले वैशाख २३ गते चुनावी सभा गर्ने भएको छ।
बुधबार स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहको चुनावी सभा वैशाख २३ गते गर्ने निर्णय भएको बताएका छन्।
त्यसदिन काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने विज्ञप्तिमा उल्लेख छ।
रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको संयन्त्रको बैठकले सो निर्णय गरेको हो।
यसअघि वैशाख ८ गते सत्ता गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको थियो। त्यसलाई संशोधन गर्दै वैशाख २३ गते गर्न लागेको हो।
सभालाई गठबन्धन दलका प्रमुख र संयन्त्रका संयोजकले सम्बोधन गर्ने उक्त विज्ञप्तिमा उल्लेख छ।
अन्य चुनावी सभाहरू आवश्यकता अनुसार गठबन्धनका दलहरूले स्थानीय तहमा गर्न सक्ने भनिएको छ।