नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले नेकपा एमालले जिते प्रतिगमन दोहोरिने खतरा रहेको बताएका छन्।
बुधबार संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले प्रतिगमनविरूद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको तर्क गरे। त्यही कारण मुलुकको आवश्यकताले पाँच दलीय गठबन्धन जन्मिएको उनले बताए।
‘मुलुकको अप्ठ्यारो परिस्थितिको सामना गर्दै जहिले पनि कांग्रेस र माओवादीले निकास दिँदै आइरहेका छन्,’ महराले भने,‘लोकतान्त्रिक आन्दोलन पनि कांग्रेस र माओवादीको तालमेलबाट नै अघि बढेको हो र अहिले पनि एमालले जिते प्रतिगमन दोहोरिने खतरा छ।’
नेपाली कांग्रेस र नेकपा माओवादीका बीचमा गठबन्धन २०६१ सालमै निर्माण भइसकेको र अहिलेको वर्तमान राष्ट्रिय परिस्थितिले त्यसलाई थप मजबुत बनाएको उनले तर्क गरे।
उनले गठबन्धनले जनताको आधारभूत आवश्यकता पूरा गर्दै शान्ति प्रक्रियामा अपूरा रहेका केही कामलाई पूरा गर्ने दायित्व बोकेको दाबी गरे।
प्रतिगमनविरूद्ध गठबन्धकारीहरू एक मन र तनले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई सफल बनाई लाग्न उनले अपिल गरे।
गठबन्धन पराजय भए मुलुक नै पराजय हुने र मुलुकको भाग्य र भविष्य निर्धारणका लागि गठबन्धनको जित अपरिहार्य रहेको उनले जिकिर गरे।
‘प्रतिगमनकारीहरूले जनताको अधिकारमाथि 'कू' गरी मुलुकलाई अन्यौल र अस्थिरतातर्फ लैजान खोजेकाले प्रतिगमनकारीविरूद्ध सशक्त भई प्रतिकार गर्नुपर्ने बेला आइसकेको छ,’ महराले भने, ‘त्यसका लागि सबै गठबन्धन दलहरू एक मन र तनले अगाडि बढ्न जरूरी छ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले गठबन्धनकारीबीच वैचारिक सिद्धान्त फरक भए पनि राष्ट्रियताको सवाल समान रहेकाले प्रतिगमन शक्ति निसंकोच आफ्ना उम्मेदवार विजयी बनाउन दत्तचित्त भई अघि बढ्न अपिल गरे।
प्रतिगमनकारीका मुलुक नै जोखिममा परेकाले त्यो जोखिमबाट मुलुकलाई जोगाउन सत्तारूढ दलहरू अब स्थानीय सरकारदेखि केन्द्रसम्म गठबन्धन माध्यमबाट प्रतिगमनकारीरहित सरकार निर्माणमा जुट्न आवश्यक रहेको उनले औंल्याए।
कार्यक्रममा राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले मुलुकको जित्न प्रतिगमन हराउन आवश्यक रहेको बताइन्।
मुलुकको नयाँ भविष्यको यात्रा तय गर्ने साझा संकल्पका साथ गठबन्धन निर्माण भएको भन्दै उनले गठबन्धनकारीहरूका बीचमा मनैदेखि भावनात्मक एकताको आवश्यकता रहेकाले बताइन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य निर्मल आचार्यले गठबन्धनमाथि कुनै शंका नगरी वडादेखि उपहानगरसम्म विजयी बनाउन अग्रसर बन्न सम्पूर्ण कार्यकर्ताहरूलाई आग्रह गरे।