बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले एक अर्कालाई फोन गर्दा चुनावी सन्देश सुन्ने भएका छन्।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेपाल टेलिकमका मोबाइल/ल्यान्डलाइन फोनमा कलर रिङ ब्याक टोन (सिआरबिटी) राखेको हो।
आयोगका सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार मतदाता शिक्षा दिनको लागि कलर रिङ ब्याक टोन राखिएको बताए।
‘मतदाता शिक्षामा नयाँपन ल्याउन हो। सबैको मोबाइलमा मेसेजहरू भोट कसरी हाल्ने सिकाउन, सहभागीता बढाउने हिसाबले यो गरिएको हो,’ उनले भने, ‘स्थानीय तह निर्वाचन विशेष सन्देश प्रवाह गर्न यो गरिएको हो।’
हाल नेपाल टेलिकमबाट मात्रै सुचारू भएपनि त्यसबारेमा एनसेल र स्मार्ट सेलसँग पनि कुराकानी अघि बढाएको उनले बताए। त्यहाँबाट पनि छिट्टै जारी हुने उनले जानकारी दिए।
उनका अनुसार यसको लागि टेलिकमले निशुल्क सहयोग गरेको हो। यद्यपी लाग्ने करबारे पनि सरकारसँग छलफल गरिरहेको उनले बताए।
‘निशुल्क गरिदिन्छौं भन्नुभएको छ। तर त्यसको लागि कर लाग्ने र आयोगको सार्वजनिक हितको काम भएको हुनाले छुटको लागि पहल गरिदिनु भनेको हुँदा आयोगले पहल गरिरहेको छ,’ उनले भने।
यसअघि टेलिकमले कोरोनाभाइरसको महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेको थियो।