कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी शिल्पा निराला कार्कीले मंगलबार राजीनामा दिएकी छन्।
सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।
कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो। सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वाेच्च अदालत गएका थिए। सर्वाेच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए।
त्यसपछि राजीनामा नदिई उनी उम्मेदवार बनेको उजुरीमा उल्लेख छ।
कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए।
‘उहाँले बुझाउनुभएको राजीनामा पत्र तोक लगाएर दर्तासमेत नगरी राखिएको छ,’ उनले भने।
नेकपा एमालेका नेताहरूले भने फागुनमा राजीनामा दिएको भनेर दर्तामा मिलाउन दबाब दिएको कोसी अस्पतालकै एक कर्मचारीले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको बताएका छन्। नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ।