काठमाडौं उपत्यकामा दुई महानगरपालिकासहित १८ नगरपालिका छन्। सोमबार यी सबै नगरमा मेयरको उम्मेदवारी दर्ता भएको छ।
२०७४ मा जितेका मेयरमध्ये केही यसपालि फेरि मेयर उम्मेदवार बनेका छन् भने कोही भने दोस्रो कार्यकालका लागि मैदानमा उत्रिन सकेनन्।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले फेरि टिकट पाएनन्। २०७४ मा उनी एमालेबाट मेयर विजयी भएका थिए।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनलाई कांग्रेसले फेरि मेयर उम्मेदवार बनाएको छ।
ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनलाई पनि कांग्रेसले फेरि उम्मेदवार बनाएको छ भने महालक्ष्मी नगरपालिकामा रामेश्वर श्रेष्ठले फेरि टिकट पाएनन्। पाँच वर्षअघि उनले एमालेबाट टिकट पाएका थिए।
भक्तपुरमा चार नगरपालिका छन्।
चाँगुनारायण नगरपालिकामा सोमप्रसाद मिश्रले फेरि मेयर टिकट पाएनन्। २०७४ मा उनी एमालेबाट निर्वाचित भएका थिए।
सूर्यविनायक नगरपालिका मेयर वासुदेव थापालाई एमालेले यसपालि फेरि उम्मेदवार बनाएको छ।
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति पनि फेरि मेयर उम्मेदवार बनेका छन्।
मध्यपुर थिमी नगरपालिकामा पनि एमालेले मदनसुन्दर श्रेष्ठलाई फेरि मेयर उठाएको छ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयर रमेश महर्जनले फेरि मेयरको टिकट पाएनन्। उनी एमालेबाट २०७४ मा मेयर निर्वाचित भएका थिए।
दक्षिणकालीका मेयर मोहन बस्नेत फेरि उम्मेदवार बनेका छन्। चन्द्रागिरिमा घनश्याम गिरीले पनि फेरि मेयर टिकट पाएका छन्। नागार्जुनमा मोहन बस्नेतले फेरि मेयरमा उम्मेदवारी दिएका छन्। उनीहरू तीनै जना कांग्रेसका हुन्।
तारकेश्वर नगरपालिकामा एमालेले रामेश्वर बोहोरालाई फेरि मेयर उम्मेदवार बनाएको छ। टोखामा प्रकाश अधिकारीले पनि फेरि टिकट पाएका छन्। उनी पनि एमाले हुन्।
गोकर्णेश्वरका मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहराका कृष्णहरि थापा, शंखरापुरका सुवर्ण श्रेष्ठ र बुढानिलकण्ठ उद्धव खरेलले फेरि टिकट पाएनन्। उनीहरू चारै जनाले २०७४ मा एमालेबाट जितेका थिए।