नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारूढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
महासचिव पोखरेलले कांग्रेससहितका सत्तारूढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको पनि बताए।
उनले स्थानीय तह निर्वाचनको चुनावमा सत्तारूढ दलहरूले एमालेसँग पराजित हुने डरले चुनावी गठबन्धन गरेको उल्लेख गर्दै एमाले मुलुकको सबभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको जिकिर गरे।
उनले सत्तारूढ दलहरूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए।
महासचिव पोखरेलले भने, ‘नेकपा एमालेसँग सत्तामा रहेका सत्तारूढ दलहरूले एक्लै चुनाव लड्ने आँट गरेनन्। नेपालको सबभन्दा पुरानो पार्टी भन्ने नेपाली कांग्रेस आज नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ। र, उसले चुनाव लड्नका लागि पनि अरूको सहारा खोज्नुपर्छ भन्ने कुरा स्पष्ट भएको छ। अब नेपालमा सबभन्दा ठूलो पार्टीको रूपमा, राष्ट्रिय शक्तिको रूपमा एमाले आएको छ भन्ने कुरा यो निर्वाचनले स्थापित गरेको छ भन्ने कुरा म राख्न चाहन्छु।’
महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेताको रूपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गरे।
उनले एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि दोहोर्याए।