ललितपुर महानगरपालिकामा उपमेयरकी एमालेबाट उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए।
‘उजुरी दर्ता भएको छ। दुई वटा छन्। दर्ता गरेर राखेका छौं। हेरेका छैनौं,’ उनले भने, ‘भोलि हेर्छौं।’
बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।
निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी दिन चाहने व्यक्तिले समानुपातिकको बन्दसूचीबाट हटाउन अनुरोध गरेको थियो। त्यसको लागि वैशाख १० गतेसम्मको समय तोकेको थियो।
‘सांसदको बन्दसूचीमा नाम परेको छ, अहिले त्यसमा नाम भएका व्यक्तिहरूलाई चुनाव लड्न नपाइने भनेको हुँदा उम्मेदवारीविरूद्ध उजुरी परेको होला। त्यसबारे हेरिसकेका छैनौं,’ उनले भने।
यस्तै, एक जना सदस्यविरूद्ध पनि उजुरी परेको उनले बताए।
माओवादी पृष्ठभूमिबाट आएकी शाक्य नेता रामबहादुर थापानिकट हुन्। एमाले र माओवादी मिलेर बनेको नेकपा अदालतको आदेशपछि विभाजित हुँदा उनी एमालेमा गएकी थिइन्।
सुनाकोठीकी शाक्यलाई २०७४ मा माओवादीले ललितपुर महानगरमा उपमेयरको उम्मेदवार बनाएको थियो। मनोनयन दर्ता गर्न जाँदा मतदाता नामावलीमा नाम नभएपछि पछि हट्नु परेको थियो।
माओवादी द्वन्द्वका बेला उनी केही समय भूमिगत पनि भएकी थिइन्।