सुर्खेतको भेरीगंगा नगरपालिकाकी माओवादी नेता डल्ली सिंहले मेयरका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
मेयरमा उम्मेदवारी दर्ता गरे पनि सिंहलाई आफू वैशाख ३० मा हुने स्थानीय चुनावमा लड्न पाउँछु कि पाउँदिनँ भन्ने थाहा छैन। देशका विभिन्न ठाउँमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल भएका बेला सुर्खेतमा मनोनयन दर्ता गर्ने समय घर्किन लाग्दासम्म दलहरूबीच भागबन्डा नमिलेपछि सबैले आ-आफ्नो किसिमले उम्मेदवारी दर्ता गरेका छन्। सबै पार्टीले उम्मेदवारलाई एउटा सर्त भने राखेका छन्, भोलि गठबन्धन भयो भने तिम्रो उम्मेदवारी फिर्ता पनि हुन सक्छ। यो अन्तिम होइन।
सिंहले पनि त्यही सर्तमा उम्मेदवारी दिएकी हुन्।
‘अहिलेसम्म गठबन्धनको फिक्स भएको छैन। हामीले आफ्नो तर्फबाट उम्मेदवारी दिइसक्यौं। यो अन्तिम नै होइन। गठबन्धनबीच १६ गतेसम्म सहमति भइहाल्यो भने फिर्ता हुनुपर्ने पनि हुन सक्छ,’ सिंहले भनिन्,‘भोलि फिर्ता लिनुपर्यो भने पनि कुनै समस्या छैन। हामीले रजिष्ट्ररमा हस्ताक्षर नै गरिसकेका छौं।’
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म १ लाख ४४ हजार ४ सय १६ जनाको मनोनयन दर्ता भएको छ।
सिंहले झैं मनोनयन दर्ता गरेका यी सबै उम्मेदवारले वैशाख ३० गतेको चुनाव भने लड्न नपाउने सम्भावना बढेको छ। सत्तारूढ पाँच दलले तालमेल नगरी उम्मेदवारी दिएका र बागी उम्मदवार बनेकाहरूलाई मिलाउन कसरत आजबाट थालेको छ।
सत्तारूढ गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै गठबन्धन गर्ने निर्णय गरेको थियो। केन्द्रको निर्णय नमानी केही ठाउँमा स्थानीय नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केहीमा पार्टीले नै उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले भने यसरी उम्मेदवारी दिएकाहरूलाई मिलाउन कसरत थालेका छन्। वैशाख १६ गते अन्तिम नामावली प्रकाशन गर्ने समय छ। गठबन्धन नेताहरूले त्यो दिनसम्म देशभरि साझा उम्मेदवार बनाउने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आज देशभरि कसले, कहाँ बागी, स्वतन्त्र र एक्लाएक्लै उम्मेदवारी दिएकाको विवरण मगाएको जानकारी दिए।
‘कहाँ, कसले उम्मेदवारी दिएको छ। सबै रेकर्ड मगाएका छौं। फिर्ता गर्न पर्याप्त समय छ,’ खड्काले सेतोपाटीसँग भने,‘१६ गतेसम्म जसरी पनि त्यस्ता उम्मेदवारले फिर्ता लिने वातावरण बनाउँछौं। त्यसका लागि गठबन्धन र पार्टीको बैठक पनि बस्छ।’
माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले पनि १६ गतेसम्म धेरै ठाउँमा गठबन्धनको भागबन्डा मिल्ने बताए।
माओवादी केन्द्रले गठबन्धनको निर्णयविपरीत आफ्नो भागमा नपरेको नेपालगन्ज उपमहानगरमा मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिएको छ।
‘यस्तो भएको ठाउँमा १६ गतेसम्म मिलाउन छौं,’ बस्नेतले भने।
एकीकृत समाजवादीका उपमहासचिव गंगाधर तुलाधरले साझा उम्मेदवार बनाउने विषयमा आजैदेखि छलफल सुरू हुने बताए।
‘आजैबाट यसबारे छलफल हुन्छ। हामी मिलाउन सक्दो प्रयत्न गर्छौं। गठबन्धन भएन भने हामी सबैले क्षति व्यहोर्नुपर्छ,’ तुलाधरले भने,‘गठबन्धन भएन भने प्रतिगमनले जित्ने र अग्रगमनले हार्ने हुन्छ। त्यसैले हामी मिलाउँछौं।’