नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको उम्मेदवार बनाएपछि चिरीबाबु महर्जन र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार फेरि आमनेसामने भएका छन्।
पाँच वर्ष पहिले भएको स्थानीय चुनावमा पनि उनीहरू ललितपुरको मेयरमा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला चिरिबाबुले मेयर जितेका थिए।
यसपालि चिरीबाबु पाँच दलीय सत्ता गठबन्धनबाट ललितपुर मेयरमा साझा उम्मेदवार छन्। एमालेका व्यञ्जनकारलाई पनि राप्रपा नेपाल, परिवार दलको साथ छ। एमालेले यी दुई दलसँग चुनावी तालमेल गर्ने भनेको छ।
सत्ता गठबन्धनबाट उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उम्मेदवार छन् भने एमालेबाट ललितपुरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गरेकी छन्।
चिरिबाबुले ०७४ को चुनावमा झिनो मतान्तरले ललितपुरको मेयर जितेका थिए। महर्जनले २४ हजार छ सय ४२ मत ल्याउँदा हरिकृष्णले २४ हजार तीन सय १६ मत ल्याएका थिए।
त्यसबेला मेयरमा नेकपा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार छ सय ६१ मत ल्याएका थिए। माओवादीले ०७४ मा ल्याएको मतसमेत जोड्ने हो भने यसपालि चिरीबाबुलाई चुनाव जित्न सजिलो हुने देखिन्छ।
यसबीचमा नेकपा विघटन भएर एमाले र माओवादी पुन: अस्तित्वमा आएका थिए। जसले गर्दा माओवादीका केही मानिस एमालेतर्फ पनि गएका छन्।
यस्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ। उक्त पार्टीले पनि चिरीबाबुलाई साझा उम्मेदवार मानेको छ। यो पार्टीबाट पनि केही मत चिरिबाबुका पक्षमा जाने देखिन्छ।
एमालेबाट उम्मेदवार बनेका हरिकृष्णलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गरेको छ। ०७४ मा ललितपुरमा राप्रपाबाट बाबुकाजी थापाले १० हजार पाँच सय ४७ मत ल्याएका थिए।
राप्रपाबाट अलगिएका थापाले राप्रपा नेपाल गठन गरेका छन्। राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेलको सहमति भएको थियो।
०७४ मा ललितपुरमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो। एमालेले राप्रपालाई उपमेयर छाडेको थियो। राप्रपाबाट उपमेयर उठेका बाबुकाजी थापाले १० हजार पाँच सय ४७ मत ल्याएका थिए। त्यसबेला उपमेयरमा कांग्रेसकी गीता सत्यालले जितेकी थिइन्।
२०७४ को चुनावमा साझा पार्टीले पनि ललितपुरको मेयरमा उम्मेदवारी दिएको थियो। साझाका उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत पाएका थिए। उनले पाएको त्यो भोटमध्ये ठूलो हिस्सा कांग्रेसको परम्परागत भोट थियो।
यसपालि पनि ललितपुरमा विवेकशील साझाले उम्मेदवार उठाएको छ। २०७४ मा जस्तो आकर्षण अहिले विवेकशील साझाको देखिएको छैन। यसले पनि चिरीबाबु राहत हुन सक्छ।