भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका ३० जनामध्ये ४ जना ३० वर्षभन्दा कम उमेरका छन्।
मेयरमा उम्मेदवारी दिनेहरू २६ देखि ७० वर्षसम्मका छन्।
सबभन्दा कम उमेरका २६ वर्षीय उम्मेदवार कुलराज कँडेल मेयर पदका स्वतन्त्र उम्मेदवार हुन्। उनी भरतपुर महानगरपालिकाको वडा नम्बर ४ का बासिन्दा हुन्।
सबभन्दा बढी उमेरका उम्मेदवार जगन्नाथ पौडेल ७० वर्षका छन्।
उनले नेपाली कांग्रेसले मेयरमा अर्को पार्टीको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको विरोधमा असन्तुष्ट समूहको नेतृत्व गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनी २०६० सालमा राष्ट्रिय सभाको सदस्य भएका थिए।
यहाँबाट मेयरमा उम्मेदवारी दिने अन्य २ जना २८ वर्षका छन्।
विवेकशील साझा पार्टीका उम्मेदवार प्रविन काफ्ले र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उम्मेदवार सुरेन्द्र परियार २८ वर्षका भए। काफ्लेको पेसा इन्जिनियर हो। उनी भरतपुर–१० का हुन्। परियार भरतपुर-३ का बासिन्दा हुन्।
३० वर्षका मिलन अधिकारीले पनि मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। उनी भरतपुर-१४ का हुन्।
भरतपुरको मेयरमा उम्मेदवारी दर्ता गरेका नेकपा एमालेका विजय सुवेदी ५८ वर्षका भए। सत्तारूढ गठबन्धनकातर्फबाट उम्मेदवारी दिएकी रेनु दाहाल ४५ वर्ष भइन्।