धनगढी-उपमहानगरपालिकामा प्रमुखका लागि नौ र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार र सोमबार गरी सत्तारुढ गठबन्धन, नेकपा एमाले, अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
उपमहानगरपालिकाकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूका अनुसार तीन जना स्वतन्त्र उम्मेदवारसहित नौ र उपमेयरमा एक स्वतन्त्रसहित सात जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका बसन्तबहादुर विश्वकर्मा छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापाले मनोनयन दर्ता गरेका हुन्।
गठबन्धनका तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी, नेकपा एमालेकी कन्दकला रानाथारू, विवेकशील साझा पार्टीकी विमला पन्त ओझा, राप्रपाका दुर्गादत्त पन्त, नागरिक उन्मुक्ति पार्टीकी सावित्री चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
उपमेयरकै लागि नेपाल परिवार दलकी विष्णुकुमारी बिक र प्रभाकर भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।