सत्ता गठबन्धनबाट पोखरा महानगरका मेयर उम्मेदवार बनेका धनराज आचार्यले पोखरालाई हराभरा, सभ्य र भव्य बनाउने बताएका छन्।
मेयरको उम्मेदवारी दर्ता गरेपछि आचार्यले आगामी पुस्तालाई पोखराको प्रकृति जोगाएर हस्तान्तरण गर्ने आफ्नो योजना भएको बताए।
नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका आचार्यले पोखरा बनाउने एजेण्डाका आधारमा आफूले चुनाव जित्ने दाबी गरे।
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुव्यवस्थित, सफा र आधुनिक पोखरा निर्माणमा आफू जुट्ने उनको भनाइ छ।
गठबन्धनका तर्फबाट पोखरा महानगर स्तरीय घोषणा पत्र मंगलबार सार्वजनिक गर्ने उनले बताए।
घोषणा पत्रमा चुनाव जितेको दिनदेखि नै समयसीमासहित कार्ययोजना तयार पारेको उनले बताए।
‘चुनाव जितेको पहिलो महिना के काम गर्ने, दोस्रो महिना के गर्ने सबै समयसीमा राखेर काम गर्छौं,’ उनले भने, ‘हामी आउँदा कस्तो थियो र जाँदा कस्तो बनायौं भनेर देखिने गरी काम गर्छौं।’
पाँच दलीय गठबन्धनमा केही असन्तुष्टि भए पनि मिलाएर लैजाने उनले बताए।
पाँच दलका शीर्ष नेतासहित पोखराका नेता/कार्यकर्ता मिलाउन आफूले भूमिका खेल्ने आचार्यको भनाइ छ।
‘समाजमा, घर परिवारमा त असन्तुष्टि हुन्छ,’ उनले भने,‘कसरी व्यवस्थापन गर्ने हो, हामी गर्छौं।’
पोखराको मेयर आफूले जित्ने सुनिश्चित भएको दाबी गर्दै उनले जनमत नै सबभन्दा ठूलो भएको बताए।
‘जनताको मतभन्दा ठूलो कोही छैन, हामीले कोही बलियो र कोहीलाई कमजोर ठानेका छैनौं,’ उनले भने, ‘हाम्रो एजेण्डा र कामले नै हामीलाई जिताउँछ।’