दाङमा विभिन्न दलहरूले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरेका छन्।
पञ्चेबाजासहित नाच्दै गाउँदै दलहरू मनोनयन दर्ता गर्न पुगेका थिए। जिल्लाका प्रमुख सहर घोराही र तुलसीपुरमा मनोनयन दर्ता गर्दा प्रमुख दलहरूले शक्ति प्रदर्शन गरे।
गाउँ-गाउँबाट बसमा मानिसहरू ल्याइएको थियो। पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरू मनोनयन दर्ता गराउन आउँदा यातायात ठप्प प्राय: बनेको थियो।
राप्ती राजमार्ग अन्तरगतको तुलसीपुरको मुख्य सडक तीन बजेदेखि लगभग बन्द प्राय: बनेको थियो।
त्यस्तै, दृष्य घोराहीमा पनि देखिएको थियो।
पाँच वर्षपछि वैशाख ३० गते हुन थालेको स्थानीय तहको निर्वाचनलाई विभिन्न राजनीतिक दलहरूले उत्सवको रूपमा लिएको देखियो।
विगतको निर्वाचन बहिस्कार गरेको विप्लव नेतृत्वको नेकपाबाट समेत यसपटक निर्वाचनमा उत्साहप्रद रूपमा सहभागिता जनाएको देखियो। जिल्लाका विभिन्न पालिकाहरूमा विप्लवका नेताहरूले मनोनयन दर्ता गराएका छन्।
तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले विगतको पाँच वर्षमा नेकपा एमालेको सरकारले गरेका विकृति विसंगतिको अन्त्यका लागि आफूले मेयरमा उम्मेदवारी दिएको बताए।
गठबन्धनबाट तुलसीपुरको उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, एमाले दाङका यसअघिका अध्यक्षसमेत टीकाराम खड्काले समाजको समृद्धि, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधारका लागि आफूले काम गर्ने बताए।
तुलसीपुरमा एमालेबाट श्यानी चौधरीले उपमेयरमा उम्मेदवारी दिएकी छन्।
त्यस्तै, घोराही उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) र उपमेयरमा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले उम्मेदवारी दिएका छन्।
घोराहीमा एमालेबाट अहिलेका मेयर नरूलाल चौधरी र उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्लाका दस पालिकामध्ये अधिकांश ठाउँमा निकै उत्साहका साथ मनोनयन दर्ता भएको बताइएको छ।
विप्लव नेतृत्वको नेकपाका नेताहरूले पनि विभिन्न पालिकामा स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्।
तुलसीपुरमा यसअघि तुलसीपुर खानेपानीका अध्यक्ष रहेका विप्लवका नेता खेमराज वलीले उपमेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।