भरतपुर महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीका प्रवीन काफ्लेले उम्मेदवारी दर्ता गरेका छन्।
उक्त पार्टीबाट उपमेयरमा पुष्पा सापकोटाले उम्मेदवारी दर्ता गरेकी छन्।
उनीहरू उम्मेदवारी दर्ता गर्न इलेक्ट्रिक रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। काफ्लेले साथमा निर्वाचन चिन्ह तराजु बोकेका थिए।
मेयरमा उम्मेदवारी दिएका २८ वर्षीय काफ्ले इन्जिनियर हुन्।
उनले भुइँमान्छेको आवाज बोकेर चुनावी मैदानमा होमिएको बताए।
‘त्यसैले मबिना तडकभडक निर्वाचन अभियानमा लागेको छु,’ उनले भने, ‘जनताको जीवनस्तर नै हाम्रो चुनावी प्रचार शैली र खर्चको मापदण्ड हो।’
उनले निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गर्दै उदाहरण पेस गर्ने बताए।
काफ्लेले मेयरमा विजयी भए भ्रष्टाचार शून्य, सुशासन, पारदर्शिता, जवाफदेहिताको पूर्ण पालना गर्ने बताए।
उनको लक्ष्य भरतपुरलाई आगामी २ वर्षमा पूर्ण रूपमा डिजिटल तथा प्रविधिमैत्री सहर बनाउने, आयात घटाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नमा जोड दिने बताए।