निर्वाचन आयोगले भोलिदेखि मतपत्र ढुवानी गर्ने भएको छ।
सोमबार नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले भोलिबाट जिल्लामा मतपत्र पठाउन लागेको बताए।
यस्तै आयोगले यसअघि ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको थियो। सो काम सम्पन्न भएको आयोगले जनाएको छ।
‘निर्वाचन आयोगले ७७ वटै जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको छ। वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने तयारी गरिएको छ,’ प्रवक्ता पौडेलले भने।
आयोगले मतपत्र ढुवानी गर्न सेनालाई खटाउन लागेको छ। मतपत्रहरू कहाँ पुगेको भन्ने नियमन जिपिएस समेतबाट ट्र्याक गर्ने आयोगले जनाएको छ।
आज सम्म आयोगले करिब ८० प्रतिशत मतपत्र छापिसकेको छ। आयोगले मतपत्र छाप्न जनक शिक्षा केन्द्रलाई जिम्मा लगाएको थियो। अहिले सेनाको सुरक्षामा मतपत्र छाप्ने कुरा भइरहेको आयोगले जनाएको छ।
आयोगका अनुसार आज सम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छापिसकेको छ। आयोगले निर्वाचनको लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ। बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ।
६ वटा महानगरपालिका र भक्तपुरका चार वटा जिल्लाको मतपत्र आयोगले १७ गतेपछिमात्रै छाप्ने तयारी गरेको छ।