वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका राजेशमान सिंहले मनोनयन दर्ता गराएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदीप यादवलगायतका उपस्थितिमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन्।
मेयरमा उम्मेदवारी दिएका सिंह केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जसपा प्रवेश गरेका थिए।
उपमेयरका उम्मेदवार आलम कांग्रेस पर्साका सचिव हुन्।
वीरगन्ज महानगरपालिकामा सत्ता गठबन्धन घटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडिरहेका छन्।
गठबन्धनका उम्मेदवार सिंह अघिल्लो निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेर तेस्रो भएका थिए। त्यसैगरि नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दिएका छन्।
एमालेसँग गठबन्धन गरेको लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा पुरूषोत्तम झाले मनोनयन दर्ता गराएका छन्।
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडिरहेको छन्। निर्वतमान मेयरसमेत रहेका सरावगीले केही दिनअघि जसपा परित्याग गरि एमाले प्रवेश गरेका थिए।
यस्तै राप्रपाबाट पत्रकार गिरीश गिरीले वीरगन्ज महानगको मेयरमा उम्मेदवारी दिएका छन्।