‘सुन्दर घोराही, समृद्ध घोराही’का लागि आफ्नो उम्मेदवारी रहेको गठबन्धनका उम्मेदवारहरूले बताएका छन्।
सोमबार दाङको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका गठबन्धनका उम्मेदवारहरूले समग्र घोराहीलाई समृद्ध बनाउनका लागि उम्मेदवारी दिएको बताएका छन्।
नेकपा एकीकृत माओवादीका नेता तथा गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाका नगर प्रमुखका साझा उम्मेदवार हेमराज शर्मा (डायमण्ड) ले सिंगो घोराही उपमहानगरपालिकालाई समृद्ध बनाउनका लागि प्राथमिकतामा राखेर काम गर्ने बताए ।
‘सुन्दर घोराही, समृद्ध घोराहीका लागि थुप्रै काम गर्न आवश्यक छ,’ उनले भने, ‘ती कामलाई पूरा गर्न गठबन्धनले जित्न आवश्यक छ।’
घोराही उपमहानगरपालिकाका १९ वटा वडाबासीलाई आत्मनिर्भर बनाउने आफूहरूको पहिलो योजना हुने उनले जानकारी दिए।
उनले कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। कृषि उत्पादन, व्यवस्थापन र बजारीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना उनले प्रस्तुत गरे।
स्वच्छ वातारणमा जोड दिँदै उनले प्रदूषण न्यूनीकरणका लागि कार्यगत योजना बनाएर आफूहरू आगडि बढ्ने आश्वासन बाँडे।त्यस्तै, उनले दाङको टुरिजम हबका रूपमा स्थापित गराउन योजना बनाउने बताए।
पर्यापर्यटनका रूपमा दाङलाई अगाडि बढाउने र यहाँको स्थानीय उत्पादनलाई व्यवस्थित बजारीकरण गर्ने उद्धेश्य उनले सुनाए।
त्यस्तै, नेपाली कांग्रेसका नेता तथा गठबन्धनबाट उपमेयरका उम्मेदवार भूपबहादुर डाँगीले दाङलाई विकाससँग जोड्न गठबन्धनले जित्न जरूरी रहेको दाबी गरे।
‘घोराही उपमहानगरपालिकाको समृद्धि हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति लगायतका क्षेत्र प्राथमिकतामा राखेर हामीले काम गर्नेछौं।’
बितेका पाँच वर्षमा घोराही उपमहानगरपालिकाका सबै नागरिकले स्थानीय सरकारको महसुस गर्न नपाएको भन्दै उनले त्यस्ता थुप्रै गुनासो मेट्ने गरी काम गर्ने आश्वासन बाँडे।