विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालयमा तामझामसहित पुगेका थापाले उम्मेदवारी दर्ता गराएका हुन्।
उनीसँगै उपमेयरमा एमालेबाटै शिल्पा कार्कीले पनि उम्मेदवारी दर्ता गराएकी छिन्।
नेकपा एमालेले निकै लामो रस्साकस्सीपछि सोमबार मात्र विराटनगर महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको हो।
विराटनगर महानगरमा एमालेबाट केन्द्रीय नेताहरु लालबाबु पण्डित, जीवन घिमिरे, गुरु बरालसहित अन्य नेताहरुसमेत मेयरको टिकट लिने दौडमा सामेल थिए। तर, सबैलाई उछिन्दै महानगर अध्यक्ष थापाले टिकट पाए।
महानगर मेयरका उम्मेदवार थापा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भइसकेका नेता हुन्।
२०५७ पछि लगातार दुई कार्यकाल स्ववियु सभापति जितेका उनी नेकपा कालमा महानगर अध्यक्ष बनेका थिए। उपमेयर उम्मेदवार कार्की यसपटक महानगर कमिटीको उपाध्यक्ष भएकी थिइन्।