पाँच दलीय गठबन्धनविरूद्ध एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा तामझामका साथ मनोनयन दर्ता गरेको छ।
तिलोत्तमामा नगर उपप्रमुखमा यसअघिकी उपप्रमुख जगेश्वरदेवी चौधरी दोहोरिए पनि नगर प्रमुखमा भने मोहन चापागाईंले उम्मेदवारी दिएका छन्।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य लिला गिरी, वर्तमान नगरप्रमुख वासुदेव घिमिरे लगायत सयौं नेता कार्यकर्ताहरूको र्यालीसहित तिलोत्तमा शंकरपुरस्थित निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरूले सोमबार दिउँसो मनोनयन दर्ता गरेका हुन्।
नगर प्रमुख तथा उपप्रमुखहरूले मनोनयन दर्ता गर्नुअघि उपाध्यक्ष पौडेलले उम्मेदवारहरूलाई टिका र खादा लगाइदिएर जितको शुभकामना दिएका थिए।
तिलोत्तमामा मनोनयन दर्तापछि नेता पौडेल बुटवल उपमहानगरपालिकामा जाँदैछन्।
आगामी कार्यकालका लागि समेत नगर प्रमुखका आकांक्षी देखिएका नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरूकै कारण देशभर चर्चा बटुलिरहेको अवस्थामा कतिपय कामहरूको दीगो व्यवस्थापन गर्न बाँकी रहेकोले ती काम पूरा गर्ने जिम्मेवारी चापागाईंले लिनुपर्ने भन्दै शुभकामना दिए।
भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सुशासन, समुदाय परिचालन लगायतका क्षेत्रमा नगरपालिकाले अगाडि सारेका योजनाहरूकै कारण तिलोत्तमा नगरपालिका लगातार दुई वर्ष उत्कृष्ट नगरपालिका घोषित भइसकेको छ।
त्यस्तो अवस्थामा नगर प्रमुखको आकांक्षी बनेका घिमिरेलाई एमालेले फेरि पनि नगर प्रमुखको उम्मेदवार बनाउने धेरैले आंकलन गरेका थिए। तर यसअघिको निर्वाचनमा पनि आकांक्षी बने पनि अन्तिम समयमा आएर उम्मेदवार बन्नबाट बञ्चित भएका चापागाईंलाई फेरि पनि उम्मेदवार नबनाउँदा उनीमाथि अन्याय हुने भन्दै घिमिरेलाई नदोहोर्याइएको एमालेले जनाएको छ।
रूपन्देहीमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र कञ्चन गाउँपालिकाबाहेक अन्य पालिकामा यसअघिकै निर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकालको लागि पनि दोहोर्याइएको छ।
यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं वर्तमान गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाणलाई हराएर नगरप्रमुख बनेका घिमिरेलाई उनको कार्यशैली र क्षमताको आधारमा माथिल्लो तहमा लैजान नगरपालिकामा नदोहोर्याइएको पार्टी निकट स्रोतले जनाएको छ।
‘पहिलो पाँच वर्षे कार्यकालमै नगर प्रमुखको रूपमा धेरै राम्रा काम गरेर तिलोत्तमालाई उत्कृष्ट बनाउनुभयो, आगामी दिनमा उहाँले गर्नुपर्ने धेरै काम छन्, एक वर्षपछि प्रदेश र संघीय निर्वाचन आउँदै छ, क्षेत्र नं. ३ बाट संघमा लैजाने सम्भावना पनि बलियो छ,’ स्रोतले भन्यो।