नेपाली कांग्रेस गोरखामा मेयरको टिकटलाई लिएर विवाद भएपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको छ।
गण्डकी प्रदेश संसदीय समितिले गोरखा नगरपालिकाको मेयरको टिकट आज बिहान विश्वदेव श्रेष्ठलाई दिएको थियो।
टिकट पाएपछि श्रेष्ठ पोखराबाट गोरखा पुगेका थिए। तर बसपार्कनजिकै एक फोटो स्टुडियोमा उनीमाथि कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेका थिए। उनको हात र अनुहारमा चोट लागेको थियो।
‘मेयरको टिकट किन ल्याइस्’ भन्दै उनीमाथि कांग्रेस कार्यकर्ताले नै आक्रमण गरेका थिए।
विश्वदेव संस्थापनइतर समूहका हुन्।
उनले मेयरको टिकट ल्याएपछि असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय र नगर कार्यसमितिको हरमटारीस्थित कार्यालयमा ताला र बाहिर प्रदर्शन गरेका थिए। उनीहरूले कमजोर जनआधार भएका श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै विरोध गरेका थिए।
मेयरको उम्मेदवारको विषयलाई लिएर करिब तीन घन्टा गोरखामा तनाव भएपछि पार्टीको केन्द्रले हस्तक्षेप गरेको छ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आधिकारिक मेयरको उम्मेदवार राजनराज पन्त भएको पत्र पठाएका छन्।
‘बिहान मेयर उम्मेदवार विश्वदेव श्रेष्ठ भन्ने आएको थियो। अहिले फेरि सभापतिबाट आधिकारिक उम्मेदवार पन्त भएको पत्र आएको छ,’ कांग्रेसका एक जिल्ला पदाधिकारीले सेतोपाटीसँग भने।
उपमेयरमा भने मसलीमाया थोकर (सपना पुन) लाई कांग्रेसले टिकट दिएको छ।
गोरखा नगरपालिकाको मेयरका लागि पन्त, सचिव किशोरजंग थापा, शोभा अधिकारी, श्रेष्ठलगायतको नाम सिफारिस भएको थियो।
मेयरमा टिकट पाएका पन्त र थोकरले केहीबेरमा मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
गोरखामा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जाने निर्णय गरेको थियो। ११ स्थानीय तहमध्ये अधिकांशमा नयाँ उम्मेदवार उठाउने निर्णय कांग्रेसको छ।