धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले अघिल्लो चुनावभन्दा बढी मतले चुनाव जित्ने दाबी गरेका छन्।
मनाेनय दर्ता गरेपछि पत्रकारसँग बाेल्दै उपमहानगरपालिकामा थपिएका नयाँ मतदाता आफ्नो पक्षमा रहेकोले मत बढ्ने उनले विश्वास लिएका हुन्।
‘अघिल्लो चुनाव एक्लै लड्दा ८० प्रतिशत मतदाताले कांग्रेसलाई समर्थन गरेका थिए, अहिले पाँच दलकाे गठबन्धनले, हामी झन् बलियाे भएका छाैं’, उनले भने।
एमाले र स्वतन्त्र उम्मेदवार गाेपाल हमालसँग प्रतिस्पर्धा नहुने उनले दाबी गरे।
निकटतम प्रतिद्वन्द्वीसँग १० देखि १५ हजारकाे मत अन्तरले चुनाव जित्ने उनकाे दाबी छ।
गठबन्धनका साँझ उम्मेदवार कांग्रेसका वड र माओवादीबाट उपप्रमुखका उम्मेदवार शान्ति अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्।
उनीहरू दुवै जनाले गठबन्धनकाे सयुंक्त बाजागाजासहित धनगढी चाैराहबाट र्याली निकाल्दै निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।
अघिल्लो गत २०७४ सालकाे स्थानीय तह चुनावमा कांग्रेसका वडले १४ हजार ३ सय २४ मत प्राप्त गरेका थिए। त्यतिबेला अघिल्लो चुनावमा माओवादीबाट उपमेयरमा उठेकी अधिकारीले १० हजार दुई मत ल्याएर पराजित भएकी थिइन्। धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हाे।
पछिल्लो पाँच वर्षको अवधिमा यहाँ १६ हजार ७२१ मतदाता बढेका छन्।
२०७४ सालमा पुरूष ३७ हजार ८६६ र महिला ३८ हजार ५६१ गरी जम्मा ७६ हजार ४३० मतदाता रहेकोमा अहिले बढेर पुरूष ४५ हजार ९२४ र महिला ४७ हजार २२४ गरी कूल मतदाता संख्या ९३ हजार १५१ पुगेको छ।