नेकपा एमालेका केन्द्रिय सदस्य हरिनारायण महतोले पार्टी परित्याग गरेका छन्।
मिथिला नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका उनले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिँदै मिथिला नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पार्टीले स्थानीय नेता कार्यकर्ता र जनभावना विपरीत जग्गा व्यापारीलाई टिकट दिएको भन्दै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए।
महतो एमाले धनुषाका सहइन्चार्ज समेत थिए। पार्टीको नगर कमिटीले हरिनारायणलाई एकल सिफारिस गरे पनि अन्तिम समयमा राजारामले टिकट पाएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्।
एमालेबाट टिकट पाएका राजारामले अघिल्लो चुनावमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर लडेका थिए। तर उनी तेस्रो भए भने हरिनारायणले ६ हजार ७ सय ४० मत प्राप्त गरी विजयी भएका थिए।
तेस्रो भएका राजारामलाई हरिनारायणले नै पहल गरेर एमाले भित्र्याएका थिए। तर पछिल्लो समय एमाले सचिव रघुवीर महासेठसँग हरिनारायणको सम्बन्ध चिसिएपछि उनकै पहलमा राजारामले टिकट पाएका हुन्।
यसअघि एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन्।
निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।
पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन्।