भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन्।
दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुन्।
सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।
दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि मेयरको पदबाट राजीनामा दिएकी थिइन्। २०७४ मा उनी नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन्।
भरतपुरको उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गरे।
उनी २०७४ को निर्वाचनमा महानगरको वडा नम्बर २१ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी अहिले कांग्रेसको भरतपुर महानगरपालिका सभापति हुन्।
गठबन्धनले महानगरमा वडासम्मै तालमेल गरेको छ।
भरतपुरका २० वडा कांग्रेस, ५ वडा माओवादी र ३ वडा एकीकृत समाजवादीको भागमा परेको छ।