जनकपुरधाम उपमहानगरको मेयरमा निर्माण व्यवसायी बलराम महतोले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
रमण कन्स्ट्रक्सनका सञ्चालक रहेका उनले नेपाली कांग्रेस र माओवादी केन्द्रमा टिकटका लागि प्रयास गरेका थिए। तर कुनै प्रमुख दलबाट टिकट नपाएपछि उनले झण्डै एक महिनाअघि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावको तयारी थालेका थिए।
रमण कन्स्ट्रक्सन र महतोमाथि राजश्व अनुसन्धान विभागले झूटा तथा नक्कली भ्याट बिल प्रकरणमा मुद्दा चलाएको छ।
एक वर्षअघि विभागले उक्त प्रालि तथा त्यसका सञ्चालकलाई २० करोड ८७ लाख रुपैयाँ बिगो र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ।
धनुषा, रघुनाथपुर ४ को उक्त कम्पनीलाई देशभर ठेक्का लिएर काम अलपत्र पारेको अभियोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।
रमण कन्स्ट्रक्सनका मुख्य सञ्चालक महतो, उनका छोरा पवन र रमण हुन्। तर मेयरमा उम्मेदवारी घोषणा गरेपछि उनले निर्माण कम्पनी छोराको नाममा हस्तान्तरण गरिसकेको बताएका थिए।
उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजक लिएर राजश्व चुहावट गरेको कसुर स्थापित भएपछि अदालतमा मुद्दा दायर गरेको थियो।
यो कम्पनीले मूल्य अभिवृद्धि कर ७ करोड ५४ लाख ७०९, आयकर १२ करोड ११ लाख ३६ हजार ९९८ र लाभांश कर १ करोड ७५ लाख ७२ हजार ९२१ रुपैयाँ चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको थियो।
महतोमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान थालेको थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दाको अनुसन्धानबाट भने आफूले सफाइ पाएको महतोले बताउँदै आएका छन्।