नेपाली कांग्रेसका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा पुनः चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनमा कांग्रेसको भागमा परेको ललितपुर महानगरमा पार्टीले सोमबार उनलाई दोहोर्याउने निर्णय गरेको थियो।
जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो उनले मेयरको पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनले उम्मेदवारी दिनेक्रममा अघिल्लो चुनावमा भन्दा बढी सहयोगको अपेक्षासमेत राखेको बताएका छन्।
‘आगामी चुनावमा पहिलाको भन्दा पनि बढी सहयोगको आशा गरेको छु। मेरो तर्फबाट पनि ललितपुर महानगरपालिकामा गर्नुपर्ने कामहरू छन्। ५ वर्षमा प्राप्त गरेको अनुभवलाई परिष्कृत गरेर म अग्रसर भएर थप राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भनेका छन्।
उनले आफूलाई नेपाली कांग्रेसले मेयरको टिकट दिएकोमा प्रधानमन्त्री, मन्त्रीहरू, नेपाली कांग्रेसका पदाधिकारी तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गरेका छन्।
साथै यसपालिको चुनावमा पनि आफैंले जित्ने विश्वास व्यक्त गरेका छन्।