कर्णाली प्रदेशमा साझा उम्मेदवारविरूद्ध उम्मेदवारी दिनेलाई कारबाही गर्ने सत्तारूढ गठबन्धनले निर्णय गरेको छ।
सहमतिमा पालिकाको भागबन्डा भएका कर्णालीका आठ वटा जिल्लाहरूमा गठबन्धनका उम्मेदवारविरूद्ध लाग्ने नेता तथा कार्यकर्तालाई गठबन्धनभित्रका दलहरूले अनुशासनको कारबाही गर्ने भएका छन्।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसबारेमा गठबन्धनले विज्ञप्ति समेत जारी गरी जानकारी गराएको छ।
गत साता बिहीबारदेखि गठबन्धन दलहरूबीच भएको छलफलबाट सुर्खेत र रूकुम पश्चिमका पालिकाबाहेक अरू आठ जिल्लाका पालिका भागबण्डा भइसकेको छ।
सहमति अनुसार आठ जिल्लाका पालिकाहरूमध्ये नेकपा माओवादी केन्द्रले २५ पालिका प्रमुख र २६ उपप्रमुख लिने भएको छ। कांग्रेसले २५ प्रमुख र २३ उपप्रमुख पाएको छ भने समाजवादीले १३ पालिका प्रमुख र १६ उपप्रमुख पाएको छ।
सहमति नभएको रूकुम र सुर्खेतका सन्दर्भमा भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समयसम्म पनि सहमतिको प्रयास जारी राख्ने गठबन्धनले विज्ञप्तिमार्फत् जनाएको छ।