वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट गिरीश गिरीले मनोनयन दर्ता गराएका छन्।
महानगरपालिकाको निर्वाचन अधिकृत कार्यालयमा पुगेर गिरीले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै राप्रपाबाट बिना जैसवालले मनोनयन दर्ता गराएकी छन्। राप्रपाको शनिबार बसेको बैठकले गिरीलाई वीरगञ्ज महानगरपालिमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
गिरी लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। हालै उनले शताब्दीपुरूष सत्यमोहनको पुस्तक पनि लेखेका थिए। यसअघि उनले 'वीरगञ्जः मेरो सहरको कथा' किताब पनि लेखेका थिए।
गिरीका पिता गोपाल गिरीलाई २०६० सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाह सत्तामा आएपछि वीरगञ्ज नगरपालिकाको प्रमुखमा मनोनीत गरेका थिए।
उनले मेयर पदमा मनोनित भएर आए लगतै वीरगन्ज नगरलाई नेपालकै उत्कृष्ट शहर बनाउने अभियान सुरू गरेका थिए। उनकै पालामा पहिलो पटक वीरगन्जमा अतिक्रमणकारीलाई हटाउने अभियान सञ्चालन भएको थियो।
प्रमुखमा मनोनीत भएको करिब ६ महिनापछि तत्कालीन माओवादीले गोपाल गिरीलाई बोलाएर वीरगञ्जको वाइपास सडकखण्डमा गोली हानी हत्या गरेका थिए।