राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बुटवल उपमहानगरपालिकाको प्रमुखमा मृगेन्द्रकुमार शेरचन र उपप्रमुखमा भगवती पाण्डे सैंजुले उम्मेदवारी दर्ता गरेका छन्।
सो पार्टीले बुटवलको नगरप्रमुखमा शेरचन र उपप्रमुखमा पाण्डेलाई उम्मेदवार बनाउने यसअघि नै निर्णय गरेको थियो।
सोमबार बुटवल उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर प्रमुखमा शेरचन र उपप्रमुखमा पाण्डेसहित वडाअध्यक्ष र वडासदस्य गरी ९० जनाले मनोनयन दर्ता गरेका हुन्।
बुटवल निवासी शेरचन संचार उद्यमी हुन्।
त्यस्तै उपप्रमुखमा मनोनयन गराएकी पाण्डेले बुटवल ११ मा केक कोशेली संचालन गरेकी छन्। बुवा कृष्णप्रसाद पाण्डे र आमा मिना पाण्डेकी छोरी पाण्डे रोट्र्याक्ट क्लब अफ क्यापिटल बुटवलमा आवद्ध भई सामाजिक कार्यमा सक्रिय छन्।
भर्खरै मात्र २६ वर्ष टेकेकी पाण्डे बुटवलको उपप्रमुखमा मनोनयन दर्ता गर्ने अहिले सम्मकी सबैभन्दा कान्छी उम्मेदवार रहेको बुटवल निर्वाचन कार्यालयले जनाएको छ।
स्थानीय तह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकामा पनि मनोनयन दर्ता गराउनेहरूको भिड बढ्दै गएको छ।
मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमालेसहित अन्य दलहरू र स्वतन्त्र उम्मेदवारहरू निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ।
गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डे र एकीकृत समाजवादीबाट चिनबहादुर गुरूङ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन्। उनीहरू पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए।
नेकपा एमालेका उम्मेदवारहरू पनि मनोनयन दर्ताको लागि जाँदै गरेको बुटवल नगर समितीले जनाएको छ।