पाँच दलीय गठबन्धनबाट बुटवल उपमहानगरपालिकाको प्रमुखको लागि नेपाली कांग्रेसका खेलराज पाण्डेले मनोनयन दर्ता गरेका छन्।
पार्टीका कार्यकर्ता तथा समर्थकहरूको र्यालीको साथमा बुटवल उपमहानगरपालिकास्थित निर्वाचन कार्यालय पुगेका पाण्डेले दिउँसो साढे १ बजे मनोनयन दर्ता गरेका थिए।
मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफू निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए।
त्यसैगरी पूर्व मेयर कोष स्थापना गर्ने, बुटवलमा विपी कोइराला, पुष्पलाल र सूर्यप्रसाद प्रधानको सालिक निर्माण गरी राजनीतिमा अग्रजहरूको सम्मान गर्ने परम्पराको थालनी गर्ने बताए।
नेपाली कांग्रेस बुटवल उपमहानगरसमितिका सभापती समेत रहेका पाण्डे कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमर सिंह पुन सहित निर्वाचन कार्यालय पुगेका थिए।
गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका चिनबहादुर गुरूङ भने पाण्डेले मनोनयन दर्ता गर्दा सम्म निर्वाचन कार्यालय पुगेका थिएनन्। पाँच दलीय गठबन्धन गरेपनि काँग्रेसका उमेदवारहरू निर्वाचन कार्यालय जाँदा गठबन्धनका अन्य दलका नेता कार्यकर्ताको उपस्थिती भने देखिएन।
गठबन्धनमा उपप्रमुखको उम्मेदवारको टिकट पाएका गुरूङ भन्दा अघि नै पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवारी दर्ता गराएको अवस्थामा गठबन्धनमा रहेका अन्य दलहरू समेत एकसाथ नआउनुले गठबन्धनभित्रै खटपट भएको आशंका गरिएको छ।