प्रदेश १ मा संस्थापन पक्षले एकलौटी रूपमा उम्मेदवार चयन गरेको भन्दै शेखर कोइराला पक्षले संसदीय बोर्ड बैठक बहिष्कार गरेको छ।
बोर्डका सदस्यसमेत रहेका नेता गुरूराज घिमिरेका अनुसार संस्थापन पक्षले खोटाङ जिल्लाको उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै समूहले बैठक बहिष्कार गरेको हो।
घिमिरेका अनुसार खोटाङको उम्मेदवार छनोटमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै उम्मेदवार छनोट गर्न बनेको संसदीय बोर्ड बैठक बहिष्कार गरेको हो।
घिमिरेका अनुसार खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा जिल्लाले तिर्थराज भट्टराईको नाम सिफारिस गरेको थियो। तर प्रदेश समितिले एकलौटी रूपमा भट्टराईको नाम काटेर धर्मराज पोखरेललाई अघि सार्न खोज्यो।
यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा जिल्लाबाट ईभन राईको नाम सिफारिस भएर आएको थियो। उनको स्थानमा बिमला राईलाई अघि सार्न संस्थापन पक्षले खोजेको छ।
‘संस्थापन पक्षले यसोगर्दा चरम अन्याय भयो। यो चरम अन्यायलाई मैले टुलुटुलु हेरेर बस्न सकिनँ। यसकारण मैले टिकट बाँड्ने संसदीय बोर्ड समितिको बैठक बहिष्कार गरेको हुँ’, उनले भने।