सत्तारूढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोनयन दर्ता गर्न आफ्ना दलका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो।
बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
उनले देशैभरि पाँच दलले साझा उम्मेदवार हुने बताए।
‘बैठकमा पाँच दलको भावना र मर्मअनुसार अगाडि बढ्ने र काहीँ आन्तरिक केही असमझदारी छन् भने तिनीहरूलाई समझदारीमा परिणत गर्ने र जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधि अगाडि बढाउने पाँच दलको निर्णय भयो,’ मन्त्री कार्कीले भने।
उनले अगाडि भने, ‘त्यही निर्णयअनुसार सबैलाई मनोनयन गर्न निर्देशन दिने कुरा भएको छ। केही असमझदारीहरू छन्, सिट थोरै छ। योगदान गरेका धेरै साथीहरू हुनुहुन्छ। स्वाभाविक रूपले उहाँहरूको आकांक्षा हुनुलाई अन्यथा ठहर्याउन सकिन्न। तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले गरेको निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन।’
पाँच वर्षको अनुभवले पनि स्थानीय सरकारले सडक पूर्वाधारहरूमा उल्लेख्य काम गरेको स्पष्ट भएको उनले बताए।
‘अब यो पाँच वर्षमा विकास निर्माणलाई अगाडि बढाउने उद्देश्यले स्थानीय निकाय परिचालन गर्नुपर्दछ र स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरुलाई एकताका साथ निर्वाचित गराउन सबैले आ-आफ्नो संयन्त्रमार्फत् आ-आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ।’
मन्त्री कार्कीले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतिमा ल्याउने बताए।
‘केही छुटफुट उम्मेदवारी दर्ता भए पनि तिनीहरूलाई फेरि सहमति गरेर पाँच दलको एउटै उम्मेदवार देशभरि हुनेछ’, उनले भने।