वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पहिलो दिन १३ हजार ३८६ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।
निर्वाचन आयोगले चुनावको लागि वैशाख ११ र १२ गते मनोनयन पत्र दर्ता गराउन भनिएको छ। त्यसअनुसार आज अन्तिम दिन हो।
आज साँझ ५ बजे भित्रमा उम्मेदवारी दिन चाहनेले मनोनयनपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गर्नुपर्नेछ।
आयोगका अनुसार पहिलो देशभर दिन १३ हजार ३८६ जनाले मनोनयनपत्र दर्ता गराएका छन्।
जसमध्ये प्रमुखमा मात्रै ६१३ जनाले उम्मेदवारी दिएका छन्। उपप्रमुखमा २६८ जनाले उम्मेदवारी दिएका छन्।
यस्तै, अध्यक्ष पदमा ४७६ जना, उपाध्यक्षमा ३०३ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। त्यसैगरी ३ हजार ५४६ जना वडाध्यक्षले उम्मेदवारी दिएका छन्।
२ हजार ६९ महिला सदस्य, १ हजार ६६४ दलित महिला सदस्य र ४ हजार ४४७ सदस्यले उम्मेदवारी दिएका छन्।
आयोगका अनुसार पहिलो दिन सबभन्दा धेरै मधेस प्रदेशमा ४ हजार ५४ जनाले उम्मेदवारी दिए।
लुम्बिनी प्रदेशमा २ हजार ७१२, प्रदेश १ मा २ हजार ५७, बागमती प्रदेशमा १ हजार ९०१, गण्डकीमा ८६७, सूदुरपश्चिममा ८२१ र कर्णालीमा ४५२ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।
यस्तै, काठमाडौंमा पहिलो दिन १६४ जनाले उम्मेदवारी दिएका छन्। प्रमुखमा मात्रै ४५ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। उपप्रमुखमा १८ जनाले उम्मेदवारी दिएका छन्।
५२ जना वडाध्यक्षमा, १२ महिला सदस्यमा, ६ जना दलित महिलामा र ३१ जनाले सदस्यमा उम्मेदवारी दिएको आयोगले जनाएको छ।
भक्तपुरमा प्रमुखमा १२ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ११ जना, महिला सदस्यमा १ जना र सदस्यमा ३ जनाले उम्मेदवारी दिएका छन्।
ललितपुरमा प्रमुखमा ७ जना, अध्यक्षमा १ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २३ जना, महिला सदस्यमा ८ जना, दलित महिला सदस्यमा ४ जना र सदस्यमा २१ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।
वैशाख १३ बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।
वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ। १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
१६ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ।
त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
१७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ।
वैशाख ३० गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ।