चितवनको भरतपुर महानगरमा नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उपमेयर दिएर गठबन्धन गर्ने भएको छ।
दुई पार्टीबीच राप्रपालाई उपमेयर, दुई वटा वडाध्यक्ष र केही वडा सदस्य दिने गरी सहमति भएको छ।
आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।
राति केन्द्रीय तहमै सहमति भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो।
सहमतिअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत् प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमति भएको छ।
ती केही वडामा राप्रपाले सदस्य उठाउनेछ।
एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने पक्का गरिसकेको छ। राप्रपाले उपमेयरको टुंगो लगाइसकेको छैन। यसअघि आइतबार राप्रपाले दीपक थापालाई मेयर उम्मेदवार घोषणा गरेको थियो।
अब उनैलाई उपमेयर उम्मेदवार बनाउने कि के गर्ने भन्नेबारे राप्रपाले निर्णय गरिसकेको छैन।
उपमेयर र दुई वडाध्यक्ष राप्रपालाई दिने भएपछि अहिले एमाले पार्टी कार्यालयमा ती पदका आकांक्षी पुगेका छन्। उनीहरूले उक्त निर्णयमा असहमति जनाएपछि मिलाउने प्रयास भइरहेको छ।
सत्तारूढ गठबन्धनले भरतपुरमा मेयर माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेसले पाउने गरी भागबन्डा गरेको छ।