ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आसन्न निर्वाचनका लागि भक्तपुरमा उम्मेदवार छनोट गरेका छन्। कांग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवार टुङ्ग्याएको हो।
कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसैगरी भक्तपुर नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) ओमचरण श्रेष्ठ, चाँगुनारायण नगर प्रमुखमा कांग्रेसका निशान ढुंगेल, उपप्रमुखमा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगर प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
एमालेले सूर्यविनायक र मध्यपुरथिमि नगरमा पुरानै नगर प्रमुखलाई दोहोर्याएको छ। चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ।
एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तथा मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाललाई उम्मेदवार बनाउने भएको छ।
त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हालेकी बिना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ।
नेपाल मजदुर किसान पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चार वटै नगरपालिकामा छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने भएको छ।