नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्यान्हसम्म उम्मेदवारको टुंगो लगाउने भएका छन्।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाउने सत्तागठबन्धनमा सहमति भएको थियो भने पोखरा, भरतपुर र वीरगञ्जमा उपमेयर पाउने सहमति भएको थियो।
कांग्रेस संसदीय दलको आइतबार सानेपामा बसेको बैठकले महानगरको टिकट दिने अधिकार सभापति देउवालाई सुम्पेको थियो।
सभापति देउवाले नेताहरूसँग परामर्श गरेर महानगरका मेयर र उपमेयरको टिकट दिने तयारी गरेका छन्।
सभापति देउवाले आज मध्यान्हसम्म उम्मेदवार चयन गरिसक्ने बालुवाटार स्रोतले जनाएको छ।
काठमाडौंमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंह मेयर उम्मेदवार हुने लगभग पक्का भएको स्रोतको दाबी छ। यहाँ महानगर सभापति नीलकाजी शाक्य, सचिव सुशन वैद्य, प्रगतिमान रञ्जितको नाम पनि सिफारिस भएको थियो।
ललितपुरमा चिरीबाबु महर्जनलाई नै टिकट दिने पक्षमा सभापति देउवा छन्। चिरीबाबु यसअघि पनि मेयर थिए। ललितपुर मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो।
विराटनगरमा अमृत अर्याल वा नागेश कोइराला कसलाई टिकट दिने भन्नेमा विवाद छ। शेखर कोइराला पक्षले विराटनगरको मेयर नागेशलाई बनाउनुपर्ने अडान लिएका छन्।
पोखरा, भरतपुर र वीरगञ्जमा उपमेयरबारे पनि आजै टुंगो लाग्नेछ। भरतपुरमा महानगर पार्टी सभापति चित्रसेन अधिकारीलाई उपमेयर बनाउने तयारीमा सभापति देउवा छन्।
आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने भएकोले सभापति देउवाले छिट्टै उम्मेदवार तय गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ।