नेकपा एमालेले लामो रस्साकस्सीपछि विराटनगर महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ।
एमालेले महानगर अध्यक्ष सागर थापालाई प्रमुख र उपाध्यक्ष शिल्पा कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।
विराटनगर महानगरमा एमालेबाट केन्द्रीय नेताहरु लालबाबु पण्डित, जीवन घिमिरे, गुरु बरालसहित अन्य नेताहरुसमेत मेयरको टिकट लिने दौडमा सामेल थिए। तर, सबैलाई उछिन्दै महानगर अध्यक्ष थापाले टिकट पाए।
‘हामीले यसपटक युवापुस्तालाई अघि सार्यौं,’ थापाले टिकट पाएको पुष्टि गर्दै एमाले केन्द्रीय सदस्य विनोद ढकालले सेतोपाटीसँग भने, ‘मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई पार्टीले अघि सार्ने निर्णय भएको छ।’
महानगर मेयरका उम्मेदवार थापा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भइसकेका नेता हुन्।
२०५७ पछि लगातार दुई कार्यकाल स्ववियु सभापति जितेका उनी नेकपा कालमा महानगर अध्यक्ष बनेका थिए। उपमेयर उम्मेदवार कार्की यसपटक महानगर कमिटीको उपाध्यक्ष भएकी थिइन्।