आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका बैतडीमा आइतबार प्रमुख दलका उम्मेदवारको मनोनयन हुन सकेन। उम्मेदवार छनोटमा ढिलाइ हुँदा मनोनयन हुन नसकेको हो।
नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको टुंगो नलाग्दा मनोनयनको समय सोमबार गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।
उनले भने, 'जिल्लाका सबै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयलाई लिखित रूपमै सोमबार मनोनयन गर्छौं भनेर पत्र पठाएका छौं। सोहीअनुसार मनोनयन हुन्छ।'
नेकपा एमालेले पनि सोमबार मात्रै मनोनयन गर्ने जनाएको छ। एमाले उपसचिव लोकेन्द्र भण्डारीका अनुसार उम्मेदवारको टुंगो ढिलाइ भएकाले सोमबार मात्रै मनोनयन गरिनेछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ले पनि सोमबार मात्रै मनोनयन दर्ता हुने जनाएको छ।
नेपाली कांग्रेसका कार्यालय सचिव अनिल विष्टका अनुसार सूर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउदलाई उम्मेदवार बनाइएको छ।
शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ। यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाइएको छ। ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको छ। डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ भने अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दललाई दिइएको छ।
दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती विष्टलाई उम्मेदवार बनाइएको छ। पाटन नगरपालिकाको उपमेयर पदमा भने गठबन्धन दलको उम्मेदवार हुने बताइएको छ। पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बमलाई उम्मेदवार बनाइएको छ।
एमालेले पनि बैतडीका १० वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाको दशरथचन्द नगरपालिकाको मेयर पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयरमा सरस्वती नेपाली, पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरु भट्ट, मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउद र पुर्चौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुँवर र उपमेयरमा जानकी साउदलाई उम्मेदवार बनाइएको छ।
जिल्लाको सूर्नया गाउँपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अध्यक्ष पदमा अम्मरबहादुर कुँवरलाई उम्मेदवार बनाइएको छ भने उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ।
सिगास गाउँपालिकाको अध्यक्षमा जस्बिर बोहरा र उपाध्यक्षमा धाना धामी, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट र शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदलाई उम्मेदवार बनाइएको छ। दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा चक्र कार्की, उपाध्यक्षमा पार्वती कार्की र डिलाशैनी गाउँपालिकाको अध्यक्ष अक्कल राना, उपाध्यक्षमा लिला जोशीलाई उम्मेदवार बनाइएको छ। ती दुवै पालिकामा उपाध्यक्षको उम्मेदवार टुंगो लाग्न बाँकी रहेको एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए।
नेकपा माओवादी केन्द्रले बैतडीका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ। कुनै तहमा चुनावी तालमेल र कुनै तहमा एक्लै चुनाव लड्ने गरी उम्मेदवारको टुंगो लागेको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए। दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेमसिंह थापालाई उम्मेदवार बनाएको छ। पाटनको उपमेयरमा कमल बोहरालाई उम्मेदवार बनाइएको छ।
मेलौली नगरपालिकाको मेयरमा भीमबहादुर चन्द र उपमेयरमा मनिषा दयाल र पुर्चौंडीको मेयरमा विक्रम कुँवर र उपमेयरमा नन्दा शाहलाई उम्मेदवार चयन गरिएको हो। सिगास गाउँपालिकाको अध्यक्षमा रामसिंह साउद र उपाध्यक्षको टुंगो लाग्न बाँकी छ।
सूर्नयामा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले उपाध्यक्ष पदमा स्वेता भट्टलाई उम्मेदवार बनाएको छ। दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम), शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउद र डिलाशैनीको अध्यक्षमा लोकेन्द्र रानालाई उम्मेदवार बनाइएको छ।
नेकपा एकिकीकृत समाजवादीले पनि आफ्ना उम्मेदवार टुंगो लगाउन सकेको छैन।