पाँच दलीय गठबन्धनप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका एक सय पाँच जना पार्टी सदस्यले राजीनामा दिएका छन्।
गठबन्धनको भागबन्डामा बुटवल वडा नंं. ३ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद ढकाललाई उम्मेदवार बनाउने सहमति भएपछि उनीहरूले राजीनामा दिएका हुन्।
नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि, वडा सचिव, सहसचिव लगायत पार्टीका पदाधिकारी तथा सदस्य गरी १ सय ५ जनाले पार्टी सदस्यबाटै राजीनामा दिएको जनाएका छन्।
गठबन्धनका नाममा पार्टी केन्द्रले जनाधार नै नभएको दललाई भागबन्डाको नाममा स्थान दिएर वर्षौंदेखि पार्टीमा काम गरेका सदस्यहरूको अवमूल्यन गरेको गुनासो उनीहरूको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन बनेपछि विभिन्न क्षेत्रमा पार्टी सदस्यहरूले असन्तुष्टिका आवाज उठाउन थालेका छन्। गठबन्धन दलहरूले आफ्नो भागमा परेको स्थानमा उम्मेदवार समेत टुंगो लगाउन नसकेको अवस्थामा टुंगो लागेको स्थानमा समेत पार्टी परित्याग गर्ने क्रम बढेको छ।