नेकपा मालेले पोलिटब्युरो सदस्य सूर्यप्रसाद रेग्मीलाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनाएको छ। रेग्मीले आइतबार कार्यकर्तासहित भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन्।
मालेले उपमेयरमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको छ।
नेकपा मालेले भरतपुर महानगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा श्यामबहादुर थापालाई उम्मेदवार बनाएको छ। वडा सदस्यमा विवेक बस्ताकोटी, महिला सदस्यमा सीता शर्मा र दलित महिला सदस्यमा कमला विकले उम्मेदवारी दर्ता गरेका छन्।
वडा नम्बर ४ बाट वडा सदस्यमा दृष्टिबिहीन सरस्वती शर्मा पोखरेलले उम्मेदवारी दिएको रेग्मीले बताए।
मेयरका उम्मेदवार रेग्मी ऐतिहासिक जनआन्दोलन घाइते पीडित समाजका सचिव हुन्। उनी ३५ वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको नेकपा मालेले जनायो।
रेग्मी २०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका थिए। त्यतिखेर ११ जना उम्मेदवारमा बढी मत ल्याउनेमध्ये उनी पाचौं स्थानमा थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार भरतपुर मेयरमा आइतबार ११ जनाको उम्मेदवारी दर्ता भएको छ। उपमेयरमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवाल, राष्ट्रिय मुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङ, उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र वस्ती, मौलिक जरोकिलो पार्टीका विनोदकुमार गिरीले उम्मेदवारी दर्ता गरेका छन्।
त्यसैगरी भरतपुर–११ का रुद्रप्रसाद सापकोटा, भरतपुर–१६ का मोहित पाण्डे, भरतपुर–१ का यमकान्त शर्मा, भरतपुर–१ का रामकृष्ण ओझा र भरतपुर–८ का हरिश्चन्द्र घिमिरेले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।
आइतबार भरतपुर महानगरपालिकाका विभिन्न वडाहरूमा गरेर १५ जनाले वडा अध्यक्ष, १५ जनाले वडा सदस्य र ३ जनाले महिला वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको पौडेलले जानकारी दिए।