पोखरामा सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णय अनुसार मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कार्यकर्ता असन्तुष्ट छन्।
कांग्रेस कार्यकर्ताहरू दिनहुँ पार्टी कार्यालयमा गएर धर्ना दिने, सभापति किशोरदत्त बराल लगायत पदाधिकारीलाई कार्यालयमा थुन्नेदेखि ताला लगाउने गरिरहेका छन्।
पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ता बढ्न थालेपछि आइतबार जिल्ला सभापति बरालले पोखरा महानगर बाहेकका कास्कीका स्थानीय तहमा गठबन्धन नगर्ने घोषणा गरेका हुन्।
‘सत्ता गठबन्धनमा रहेका दलसँग पटक पटक वार्तामा बसेर तालमेलको प्रयास गर्दा कार्यकर्तामा व्यापक असन्तुष्टिका कारण मैत्रीपूर्ण प्रतिष्पर्धामा जाने निर्णय गरियो,’ सभापति बरालले कार्यकर्तालाई भने।
पार्टी कार्यालयको बार्दलीबाट सभापति बरालले उक्त घोषणा गरेपछि प्राङ्गणमा जम्मा भएका कार्यकर्ताले हुटिङ गरेका थिए।
गठबन्धन हुने पोखरा महानगरका वडामा पनि कुरा मिलेको छैन।
गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी एक्लै निर्वाचनमा जाने निर्णय गरेको छ।
सभापति बरालले गठबन्धन नगर्ने निर्णय पोखरा महानगरको हकमा भने लागु नहुने प्रतिक्रिया दिए।
‘अन्य पालिकामा पनि स्वच्छ प्रतिष्पर्धामा जाने अभ्यास भएका छन्, कास्कीमा पनि हुन्छ,’ उनले भने, ‘पोखरा महानगरको हकमा केन्द्रबाट निर्णय भएकाले गठबन्धन हुन्छ।’