नेकपा एमालेसँगको वार्तामा सहमति नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ।
राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले भरतपुर महानगर र माडीमा पनि एकल प्रतिस्पर्धामा जाने निर्णय भएको बताए।
उनका अनुसार राप्रपाले भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई भरतपुरको मेयरको उम्मेदवार बनाउने तय गरेको छ। उपमेयरको उम्मेदवार भने तय भइसकेको छैन।
पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे २०७० मा दोस्रो संविधानसभामा निर्वाचित भएको साविक क्षेत्र नम्बर ५ भित्र माडी र महानगरको केही क्षेत्रहरं पर्छन्। ती क्षेत्रमा राप्रपाको राम्रो जनमत छ।
राप्रपाले माडी नगरपालिकाको मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तय गरेको छ।
प्रवक्ता भण्डारीले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरूमा समेत उम्मेदवारी दिइने जानकारी दिए।
भरतपुर महानगर र माडी नगरपालिकामा एमालेसँग चुनावी तालमेल गर्ने प्रयास भएपनि सहमति नभएपछि एकल प्रतिस्पर्धामा जान लागेका भण्डारीले बताए।