छ वटा महानगरपालिका र भक्तपुरको चार वटा नगरपालिकाको मतपत्र मनोनयन दर्तापछि छाप्ने निर्णय माथि उठेको प्रश्नबारे निर्वाचन आयोगले प्रष्टीकरण दिएको छ।
आइतबार आयोग प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएका हुन्। निर्वाचन आयोगले ६ वटा महानगर र भक्तपुरका चार वटा नगरको मतपत्र १७ गतेपछि मात्रै छाप्ने तयारी गरेको छ। जसकारण सो मतपत्रमा उम्मेदवारको मनोनयन दर्ता भएकाको मात्रै चिन्ह उल्लेख हुने गरी मतपत्र डिजाइन गर्ने गरी आयोगले तयारी थालेको छ।
‘निर्वाचन कार्यक्रम सञ्चालन पश्चात के कति उम्मेदवारको मनोनयन दर्ता हुन्छ सोको आधारमा मतपत्रको डिजाइन गर्ने गरी ६ वटा महानगरपालिका र भक्तपुरको मतपत्र छपाइ कार्य बाँकी नै राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि उक्त समयमा पनि वडागत रूपमा उम्मेदवारको निर्वाचन चिन्ह राखी मतपत्र छपाइ गर्न सम्भव नहुने र एउटै कागजको सिटमा ६ वटा मतपत्र छाप्नु पर्दा मतपत्रको कुनै कोठा खाली राख्न र राजनीतिक दलहरूको निर्वाचन चिन्हको क्रम तलमाथि गर्न नमिल्ने हुँदा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्रको डिजाइन गर्दा पनि मतपत्रको आकारमा तात्विक फरक नपर्ने देखिएको छ।’
आयोगका प्रवक्ता शर्माका अनुसार मनोनयन गर्ने दलको संख्या र स्वतन्त्र उम्मेदवार कम हुने अपेक्षा आयोगको छ।
'निर्वाचन आयोगमा धेरै दल दर्ता छन्। ती सबैले उम्मेदवारी नदिन सक्छन्,' शर्माले भने, 'यदि कुनै दलले उम्मेदवारी दिएनन् भने त्यो दलको निर्वाचन चिन्ह छाप्नु परेन। त्यसैले आयोगले पछि मतपत्र छाप्ने निर्णय गरेको हो।'
आयोगले बाँकी जिल्लाको हकमा थोरै मात्र स्वतन्त्र उम्मेदवार हुने आकलनका आधारमा मतपत्र डिजाइन गरेको छ। तर महानगरहरूमा त्यस्तो संख्या आकलन गर्न नसकिने भएकाले मतपत्र छपाइ ढिला गर्न लागिएको हो।
त्यसो त निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नभएको ठाउँमा मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखिदिन औपचारिक आग्रह गरेको छ। तर आयोगले यदि महानगरको कुनै पनि वडामा दलले उम्मेदवारी दिएको अवस्थामा सात वटै चुनाव चिन्ह छाप्नुपर्ने अवस्था रहेको जनाएको छ।
'उदाहरणका लागि काठमाडौं महानगरपालिकामा ३२ वटा वडा छ। यदि कुनै ए भन्ने दलले एउटा वडामा एउटा मात्रै सदस्य उठायो भनेपनि उसको चिन्ह मतपत्रमा रहने भयो,' शर्माले भने, 'हामीले मतपत्र त वडा अनुसार छापेका छैनौं। १७ गते पछि छाप्ने भनेको पनि पालिकाअनुसार नै हो। सबैले आआफ्नो ढंगले व्याख्या गर्छन्। तर आयोगले पवित्र उद्देश्यले मतपत्र साइज घटाऊँ र बदरको संख्या घटाऊँ भनेर गरेको हो।'
शर्माका अनुसार कुनै दलले एउटा पद विशेषमा उम्मेदवारी नदिएको अवस्थामा पनि उक्त दलको चुनाव चिन्ह रहने बताए। सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले आफूले उम्मेदवारी नदिएका पदमा आफ्नो चिन्ह नरहोस् भन्ने चाहेको छ।
'मतपत्रमा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्यपछि दुई सदस्य रहन्छन्,' शर्माले भने, 'ए भन्ने पार्टीले अध्यक्ष उठायो र तर उपाध्यक्ष उठाएन भने पनि उदाहरणका लागि उसको चुनाव चिन्ह पन्चिङ मेसिन रहेछ भने पनि त्यो लहरैमा चुनाव चिन्ह रहने भयो।'