सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काभ्रेका १३ स्थानीय तहमा तालमेल गर्ने भएका छन्।
१३ स्थानीय तहमा नै कांग्रेसले प्रमुख र उपप्रमुखमध्ये एक लिएको छ।
बनेपा र पनौती नगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजावादीले उम्मेदवारी दिने भएका छन्।
धुलिखेल र मण्डन देउपुर नगरपालिकामा प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएका छन्।
पाँचखाल र नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसले मेयरको उम्मेदवारी दिने भएको छ भने उपमेयरमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने तीन दलबीच सहमति भएको छ। खानीखोला गाउँपालिका,चौरीदेउराली नगरपालिका, भुम्लु गाउँपालिका, महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएका छन्।
रोशी गाउँपालिका, तेमाल गाँउपालिका,बेथानचोक गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति तीन दलबीच भएको छ। जिल्ला समन्वय समितिको सभापति एकीकृत समाजवादीलाई दिने सहमति भएको छ।
सहमति पत्रमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँ, नेकपा माओवादी केन्द्रका बागमती अध्यक्ष सरल सहयात्री र एकीकृत समाजवादीका उपाध्यक्ष केदारप्रसाद नेउपानले हस्ताक्षर गरेका छन्।