नेपाली कांग्रेसले ढिला गरी केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ।
उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन गरेको छ।
कांग्रेसले बनाएको केन्द्रीय संसदीय बोर्डले विधानअनुसार महानगरको टिकट बाँड्न सक्छ।
उपमहानगरको टिकट भने प्रदेश संसदीय बोर्डले बाँड्ने अधिकार छ। तर पाँचदलीय सत्तागठबन्धन मिलेर महानगर/उपमहानगरको चुनाव लड्ने भएकोले उपमहानगरको टिकट पनि केन्द्रबाटै बाँड्ने तयारीमा कांग्रेस जुटेको छ।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आज १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर संसदीय बोर्ड गठन गरेका हुन्। संसदीय बोर्ड २५ सदस्यीय हुने व्यवस्था छ।
सभापति देउवाले संसदीय समितिमा आफूसँग महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका शेखर कोइरालालाई भने समेटेका छैनन्।
तर गत मंसिरमा भएको महाधिवेशनमा मौन बसेका पौडेललाई सभापति देउवाले केन्द्रीय संसदीय बोर्डमा राखेका छन्।
कोइरालालाई संसदीय बोर्डमा नराख्दा सभापति देउवाको आलोचना भएको छ। देउवाले केन्द्रीय कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिन लागेका थिए।
तर विधानअनुसार नमिल्ने भएको भन्दै आज संसदीय बोर्ड गठन गरिएको थियो।
‘समय अभाव हुने भएकोले संसदीय बोर्डको बैठकले सभापति देउवालाई महानगर/उपमहानगरको टिकट दिने अधिकार दिएको छ,’ एक पदाधिकारीले भने, ‘सभापतिले शीर्ष नेताहरूसँग संवाद गरेर पार्टीले पाएका महानगर र उपमहानगरमा भोलिसम्म टिकट दिने व्यवस्था हुन्छ।’
सभापति देउवानिकट स्रोतका अनुसार संसदीय बोर्डमा कसलाई राख्ने भन्नेबारे सभापति देउवाले कोइरालालाई सोधेका थिए।
‘सभापतिले पदाधिकारीबाहेक क-कसलाई संसदीय बोर्डमा राख्ने भनेर शेखर कोइरालासँग परामर्श गर्दा उहाँले नै पौडेलको नाम लिनुभयो,’ स्रोतको दाबी छ, ‘११ सदस्य मनोनीत गर्नेमा अब १० जना मनोनीत गर्न बाँकी छ। सभापतिले शेखर दाइलाई पनि पछि संसदीय बोर्डमा राख्नुहोला।’
कांग्रेसले छमध्ये जम्मा तीन महानगरमा मेयर उठाउँदैछ। काठमाडौं, ललितपुर र विराटनगरमा मेयर उठाउने भने पनि अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन।
यस्तै उपमेयरमा पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसले उम्मेदवारी दिने सहमति बने पनि कुनै पनि स्थानको उम्मेदवार टुंगिएको छैन। आकांक्षी धेरै र देउवा तथा कोइराला पक्षबीचको गुट विवादले गर्दा उम्मेदवारी टुंगो लाग्न सकस परेको छ।
११ मध्ये सात उपमहानगरमा कांग्रेसले मेयर उठाउँदैछ। धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने कांग्रेसको तयारी छ। तर उम्मेदवार टुंगो लागेको छैन।
यस्तै जितपुर-सिमरा, घोराही, हेटौंडा र जनकपुरमा कांग्रेसले उपमेयर पाउने सत्तागठबन्धनमा सहमति बनेको थियो।
महानगरमा कहाँ कसको चर्चा?
काठमाडौं महानगरको मेयरमा कांग्रेसबाट नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, सिर्जना सिंह, सुसन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस भएको छ।
हरिप्रभा ०७४ मा कांग्रेसबाट उपमेयर जितेकी थिइन्। नीलकाजी ०७४ मा वडाध्यक्ष जितेका थिए, उनी महानगर कांग्रेस सभापति पनि हुन्।
यस्तै सिर्जना भने काठमाडौं क्षेत्र नम्बर ७ की महाधिवेशन प्रतिनिधि हुन्।
सुसन महानगर कांग्रेस सचिव र प्रगतिमान नीलकाजीसँग महानगर सभापतिमा पराजित भएका थिए। काठमाडौं कांग्रेसमा प्रकाशमान सिंहको प्रभाव छ। महानगरमा गगन थापा पक्षसँग मिलेर सिंहले अधिवेशनका बेला शक्ति कायमै राखेका थिए।
लामो समयदेखि नेविसंघ, महिला संघ र पार्टी राजनीतिमा रहेकी सिर्जना प्रकाशमानकी श्रीमती पनि हुन्। यहाँ प्रकाशमानले चाहेको व्यक्तिलाई नै मेयरको उम्मेदवार बनाउनुपर्ने कांग्रेसभित्र लविङ छ।
एमालेले केशव स्थापितलाई मेयर उठाएकोले उनलाई 'टक्कर' दिन सक्ने उम्मेदवारको खोजी कांग्रेसभित्र भइरहेको छ।
यस्तै ललितपुर महानगरपालिकामा फेरि चिरीबाबु महर्जन मेयरको दौडमा छन्। ०७४ मा भएको चुनावमा उनी मेयर जितेका थिए।
मेयरमा महानगर कार्यसमितिले सात जनाको नाम सिफारिस गरेको थियो।
कांग्रेस ललितपुर महानगर कार्यसमिति सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, ०७४ मा उपमेयर जितेकी गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस भएको थियो।
यीमध्ये अधिकांश सभापति देउवानिकट छन्।
चितवनको भरतपुर महानगरमा कांग्रेसले उपमेयर पाएको छ। यहाँ सभापति देउवाले महानगर सभापति चित्रसेन अधिकारीलाई उपमेयर बनाउन चाहेका छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले सूर्यकान्त घिमिरे उपमेयर हुनुपर्ने अडान लिएका छन्।
साथै पोखरा महानगरको उपमेयरमा पनि कसलाई टिकट दिने भन्नेमा कांग्रेसभित्र सहमति हुन सकेको छैन। महानगर सभापति सुरेन्द्रमान विजुच्छेलाई उपमेयर बनाउनुपर्ने सभापति देउवाको प्रस्ताव भए पनि कोपिला रानाभाटलाई उपमेयर दिनुपर्नेमा शेखर कोइराला पक्ष छ।
कांग्रेसभित्र विराटनगरको मेयर उम्मेदवार कसलाई बनाउने भन्ने विषय पनि विवादमा छ। यहाँ शेखर पक्षले आफूहरूले भनेको व्यक्ति मेयर हुनुपर्ने अडान राखेका छन्।
सभापति देउवाले भने केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर प्रस्ताव गरेका थिए। तर कोइरालाले भने मिनेन्द्र रिजाल र महेश आचार्यलाई पनि सोध्नुपर्ने भन्दै मेयर उम्मेदवार नागेश कोइरालालाई बनाउनुपर्ने अडान राखेका छन्। नागेश मोरङ कांग्रेस उपसभापति हुन्।
विराटनगरमा कसलाई मेयर बनाउने भन्ने विषयमा शनिबार बेलुकी बालुवाटारमा भएको छलफलमा देउवा र कोइरालाबीच चर्काचर्कीसमेत परेको स्रोतको दाबी छ।
०७४ मा मेयर जितेका भीम पराजुलीलाई दोहोर्याउनुपर्ने आवाज पनि कांग्रेसभित्र छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पराजुलीलाई फेरि मेयर बनाउनुपर्ने बताइरहेका छन्। मोरङमा कोइराला पक्ष हाबी भए पनि प्रदेश नम्बर १ मा भने सिटौला पक्ष बलियो छ। सिटौला कांग्रेसको १४ औं महाधिवेशनमा सभापति देउवासँगै उभिएका थिए।