सत्तारूढ पाँच दलीय गठबन्धनले देशभर तालमेल गरेर निर्वाचनमा जाने बताए पनि बुटवल उपमहानगरपालिकामा भने जनता समाजवादी पार्टीले नगर प्रमुख र उपप्रमुख दुई वटै पदमा उम्मेदवारी दर्ता गरेको छ।
पाँचदलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बुटवलमा नगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुख नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो।
सोही अनुसार नेपाली कांग्रेसले नगर प्रमुखमा खेलराज पाण्डे र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले चीनबहादुर गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। तर आईतबार दिउँसो बुटवल उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयमा पुगेर जनता समाजवादीले नगरप्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवारी दर्ता गरेको हो।
जनता समाजवादी पार्टीबाट बुटवलको नगरप्रमुखमा सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
हितान जनता समाजवादी पार्टीको बुटवल नगर ईन्चार्जसमेत हुन्। नगर प्रमुख र उप प्रमुखमा अलग्गै उम्मेदवारी दर्ता गराए पनि वडाहरुमा भने जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराईसकेको छैन।
नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हितानले आईतबार नगर प्रमुख र उप प्रमुखको मात्रै उम्मेदवारी दर्ता गराए पनि सोमबार वडा अध्यक्ष तथा सदस्यको समेत उमेदवारी दर्ता गरिने बताए।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सह ईन्चार्ज कमल खनालले पाँचदलीय गठबन्धनले केन्द्रबाटै सबै दलहरुको उपस्थिति र हैसियत अनुसार उम्मेदवारी बाँडफाँट गरेर जाने निर्णय गरे पनि ठूला भनिएका दलले बुटवलमा आफूहरूलाई बेवास्ता गरेको र बाध्य भएर उम्मेदवारी दिएको बताए।