नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ।
सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय संसदीय बोर्डमा सदस्य छन्। सभापति देउवाले आजै संसदीय बोर्ड गठन गरेका थिए।
संसदीय बोर्डमा पदाधिकारीसहित सभापतिले मनोनीत गरेका ११ केन्द्रीय सदस्य रहने व्यवस्था छ। ११ जना मनोनीत गर्न सक्ने भए पनि देउवाले पौडेललाई मात्रै संसदीय बोर्ड सदस्य मनोनीत गरेका छन्।
संसदीय बोर्डमा शेखर कोइरालालगायत नेता परेका छैनन्।
गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा देउवासँग कोइराला पराजित भएका थिए। देउवाले महाधिवेशनका बेला मौन बसेका पौडेललाई संसदीय समितिमा समेटे पनि कोइरालालाई भने मनोनीत गरेका छैनन्।
आजको संसदीय समितिको बैठकले महानगर टिकट बाँड्ने अधिकार सभापति देउवालाई सुम्पेको छ। कांग्रेसले महानगर र उपमहानगरको टिकट केन्द्रले दिने भनेको छ।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयर पदमा उम्मेदवारी दिँदैछ। अन्यत्र उपमेयरमा उम्मेदवारी दिने सत्तागठबन्धनमा सहमति छ।
यस्तै ११ उपमहानगरमध्ये कांग्रेसले सात उपमहानगरको मेयर उठाउने भएको छ भने अन्यत्र उपमहानगरमा उपमेयर उठाउने भएको छ।
आज र भोलि उम्मेदवारको मनोनयन दर्ताका लागि समय छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेसले अहिलेसम्म महानगर र उपमहानगरका लागि उम्मेदवार तय गरेको छैन।
‘समय अभावका कारण उम्मेदवार छान्ने अधिकार सभापति देउवालाई दिइएको हो,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘महानगर र प्रदेशको समन्वयमा उपमहानगरको टिकट अब सभापतिले नै दिनुहुन्छ।’
कांग्रेसमा उम्मेदवारलाई टिकट दिन चार वटा संसदीय समिति गठन हुने व्यवस्था छ।
प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय संसदीय बोर्ड गठन भएका छन्। उपमहानगरको टिकट भने प्रदेश संसदीय बोर्डको समन्वयमा केन्द्रले दिने तयारी छ।