सत्तारूढ गठबन्धनको भागबन्डाविपरीत नेकपा (एकीकृत समाजवादी) ले ललितपुर महानगरमा मेयर र उपमेयर उम्मेदवार घोषणा गरेको छ।
एकीकृत समाजवादीका ललितपुर सहईन्चार्ज अमृत तिमल्सिनाका अनुसार पार्टीले मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि सत्ता गठबन्धनमा भएको भागबन्डामा ललितपुरको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रले पाएका थिए।
आइतबार यी दुबै दलका प्रदेश कमिटीले ललितपुरका बाँकी पालिकामा पनि भागबन्डा गरेका थिए। उक्त भागबन्डामा उनीहरूले एकीकृत समाजवादीलाई कुनै पालिकामा पनि प्रमुख र उपमप्रमुख दिएका थिएनन्।
गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नै कांग्रेसले लिएको छ। महालक्ष्मी नगरपालिकाको प्रमुख नेकपा माओवादी केन्द्रलाई र उपप्रमुख कांग्रेसले लिएको छ।
कोन्ज्योसोम गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष कांग्रेसले लिएको छ। बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ।
महाँङ्काल गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिएको छ। कांग्रेस र माओवादीले आफूहरूलाई एउटा पनि पालिका नदिएर राजनीतिक दम्भ देखाएको तिमिल्सिनाले बताए।
त्यसैको विरोधस्वरूप आफूहरूले महानगरमा उम्मेदवार घोषणा गरेको उनको भनाइ छ।