मेयरमा उठ्न राजीनामा बुझाएको बताएका मधेश प्रदेशका कानुन, न्याय तथा मामिलामन्त्री प्रमोद यादव पछि हटेका छन्।
सत्तारूढ गठबन्धबाट सिरहा नगरपालिकामा मेयरको टिकट नपाउने भएपछि उनी पछि हटेका हुन्।
उनले प्रदेशभा सदस्य र मन्त्री कुनै पनि पदबाट राजीनामा नदिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
दुई दिनअघि सेतोपाटीसँग कुरा गर्दै प्रदेश सभाका निमित्त सचिव रञ्जित यादवले मन्त्री यादवले सांसदबाट राजीनामा दिएको बताएका थिए। तर आइतबार सेतोपाटीसँग उनैले सांसद पदबाट राजीनामाका लागि पत्र नआएको जिकिर गरे।
‘उहाँले राजीनामा पत्र पठाउँदा प्रदेश सभा सदस्यबाट राजीनामा दिएको हो जस्तो लागेको थियो, तर पछि हेर्दा त्यो पत्रमा मन्त्री पदबाट राजीनामा दिएको उल्लेख थियो। त्यसैले हामीले त्यो पत्र मुख्यमन्त्री कार्यालयमा पठाइदियौँ,’ निमित्त सचिव यादवले भने।
मन्त्री यादवले समेत प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेको र मन्त्री पदबाट राजीनामा दिने प्रक्रियामा रहेको बताएका थिए।
तर आज उनले पनि त्यसबारे अहिलेसम्म आफूले निर्णय नलिएको बताए। तत्कालीन नेकपा एमालेबाट मन्त्री यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएका थिए।